वैशाख ५, २०७४- २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा यहाँका पाँच नगरपालिकाको मेयर लड्न एउटै पार्टीको दुई लाइनबाट आकांक्षीहरु मैदानमा उत्रिएका छन् । पार्टीमा पछिल्लो समय गुटबन्दी व्यापक हुँदै गएपछि यसको प्रभाव स्थानीय निकायको चुनावमा पनि प्रत्यक्ष देखिएको छ । यहाँका पाँच नगरपालिकाको मेयर लड्न मुख्य दल कांग्रेस दुई ग्रुपमा उत्रिएका छन् । पार्टीको शक्तिशाली गुटले आफू अनुकूल उम्मेदवार प्रस्ताव गरेपछि आ–आफ्ना समूहहरु लाइन खुलेर नै चुनावमा उत्रिएका हुन् । कांग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल प्यानलबाट चुनावी मैदानमा देखिएका छन् । कांग्रेसले जिल्ला अधिवेशनमा देउवा प्यानलको वर्चश्व देखिएको छ ।
त्यस्तैगरी पुतलीबजार नगरपालिकाको मेयरमा शेरबहादुर देउवाको लाइनबाट तुलसी गिरी, तुलसी रेग्मी र दीपक लम्साल मैदानमा उत्रिएका छन् भने रामचन्द्र पौडेल प्यानलबाट भरतप्रसाद लम्साल, कृष्णप्रसाद अर्याल र श्रीराम उपाध्याय आ–आफ्नो प्रचारमा लागेका छन् । त्यस्तरी नै वालिङ नगरपालिकामा देउवा पक्षमा दिलीप प्रताप खाँड, सरस्वती तिवारी, पौडेल पक्षबाट कल्पना तिवारी रहेकी छन् भने भिरकोट नगरपालिकामा देउवा प्यानलबाट छायाराम खनाल, तोयनाथ अर्याल र पौडेल लाइनबाट गोविन्द कर्माचार्य, दीपेन्द्र केसी रहेका छन् ।
यस्तैगरी, गल्याङ नगरपालिकामा देउवा प्यानलबाट श्याम बस्याल र पौडेल प्यानलबाट धुव्र पंगेनी र गुरु भट्टराई भिडेका छन् । यसै गरी नै चापाकोट नगरपालिकामा देउवा लाइनबाट ईश्वर खाँड र पौडेल लाइनबाट शिव गिरी, खेमराज भट्टराई चुनावी प्रचारमा लागेका छन् । नगर प्रमुखका आकांक्षी बढ्दै जानु र गुटको तर्फबाट उम्मेदवार तोकिदिएपछि पार्टी कार्यालयमा नै विवाद चर्किएको छ । जिल्लास्तरीय नेताहरु आ–आफ्नो लाइनको मेयरलाई टिकट दिने भन्दै केन्द्रीय नेताहरुसँग लभिङ सुरु गरिसकेका छन् । लाइनपिच्छेका नेताहरु कोही जिल्लामा नै रहेका प्रचारमा लागेका छन् भने कोही केन्द्रीय नेताहरुसँग वार्तामा बसेको स्रोतले जनाएको छ ।
उम्मेदवार तोक्ने विषयमा आपसी सहमति नजुट्दा पनि समस्या थपिँदै गएको पार्टी कार्यालयले जनाएको छ । विद्यार्थी, व्यवसायी, राजनीति गर्दै आएका पुराना व्यक्ति, शिक्षक लगायतका व्यक्तिहरुको आकांक्षा बढ्दै जानु त्यसैमा पनि चरम गुटबन्दीका कारण उम्मेदवार छान्न हम्मेहम्मे परेको एक जिल्लास्तरीय नेताले बताए । उनका अनुसार चुनाव प्रचारप्रसारमा र उम्मेदवार छानबिन गर्न दोस्रो पार्टीजस्तै आफ्नो तरिकाले लागिएको छ ।
साभार : कान्तीपुर

