ताजा अपडेट

Adbox

Saturday, April 15, 2017

दाइजो जलेपछि परिवार तनावमा

वैशाख ३, २०७४-


वैशाख ६ गतेको लगन जुरेको थियो । बिहेको सम्पूर्ण तयारी पूरा भइसकेको थियो । आगलागीमा सबै सम्पत्ति जलेर नष्ट भयो । शिवराज १० शितलापुरका स्थानीय पुजारी रैदास यस्तोमा बहिनीको विवाह कसरी गराउने भन्ने चिन्तामा छन् । ‘जोरजाम गरेको सबै सामान जल्यो । अब बिहे कसरी टुंग्याऊँ ?’ उनले भने । यसरी समस्यामा पर्ने उनी एक्लो होइनन् । ४ परिवारलाई अहिले यस्तै पिरलोले सताएको छ । विवाह नै रद्द गर्नुुपर्ने अवस्था आएपछि परिवार मानसिक तनावमा छन् । गत बुधबार बस्तीमा आगो लागेर ५९ घर जलेका थिए । बहिनीलाई दाइजो दिन एक साता अघि किनेको सिलाइ मेसिन, ट्याङ्का (समान राख्ने ठूलो टिनको बाकस) र भाँडा जलेर नष्ट भएको पुजारीले बताए । ‘अब बहिनीलाई के दिऊँ ?’ दाइजोका लागि खरिद गरेको हिरो साइकल देखाउँदै उनले भने, ‘ज्याला मजदुरी गरी यो सम्पत्ति जोडेको थिएँ, त्यो पनि एक क्षणमै खरानी भयो ।’ उनकी बहिनी राजमतीको विवाह नजिककै भदौखर गाउँका युवासँग तय भएको थियो । उनका अनुसार नयाँ कपडा, सजावटका सामान, आधा तोला सुनको नथुनी र २५ हजार नगद डढेर खरानी भयो । आगो फैलिएपछि उनको पक्की घरमा लप्का पसेर सबै सामानमा क्षति पुग्यो । जन्तीका लागि राखेको चामल, दाल, तरकारी र मिठाईका सबै समान डढे । एक लाखभन्दा बढीको समान क्षति भएको छ । ‘आलु मात्र ल्याउन बाँकी थियो,’ उनले भने, ‘अरू सबै समान ल्याइसकेको थिएँ ।’ ‘छाक टार्ने र ओतको जोहो हुनासाथ ज्वाइँका घरमा कुरा गर्छु ,’ पुजारीले भने, ‘उताबाट के भन्छन् त्यही अनुसार गर्छु ।’ तत्कालै गरौं भन्ने जवाफ मिल्यो भने चुप लाग्नुको विकल्प आफूसँग नहुने बताए । ‘कम्तीमा ५/६ महिना लाग्ने जवाफ दिन्छु,’ उनले भने । उनी जस्तै इन्द्रावती चमार पनि छोरी मीनाको विवाहका लागि जोहो गरेको एक तोला सुनको मंगलसूत्र जलेर खरानी भएपछि रुँदै बसेकी छन् । एक वर्षभन्दा लामो समय मजदुरी गरी कमाएको ५५ हजारले बनाएको उक्त गहना नष्ट भएपछि चिन्तामा छिन् । ‘आगलागीका बेला भारतस्थित आफन्तकोमा थिएँ,’ उनले भक्कानिँदै भनिन्, ‘घरमा हुन्थें भने गहना जोगाउँथें ।’ उनका पति सत्यनारायणले छोरीलाई दाइजो दिन ल्याएको भाँडाका गलेका टुक्रा देखाउँदै छोरीको विवाह रोकिने चिन्ता व्यक्त गरे । दाइजोका लागि ल्याएको एट्लस साइकल, लत्ताकपडा, खाद्यान्न र बाकस डढेर नष्ट भए । ‘कान्छी छोरीको विवाह राम्ररी गर्ने सोचेको थिएँ,’ सत्यनारायणले भने, ‘सबै सपना भताभुंग भए ।’ उनका अनुसार वैशाख २६ गते भारतको नौगढबाट जन्ती आउने कार्यक्रम थियो । अब कहिले बिहे सम्भव होला भन्ने चिन्तामा छन् । भाइ विनोदको विवाह गर्न जोरजाम गरेको समान जलेपछि दाजु लीलबहादुर कुर्मी पनि समस्यामा परेका छन् । ‘घर बनाउन राखेको सिमेन्टसम्म जलेर काम नलाग्ने भयो,’ उनले भने, ‘विवाहका लागि ल्याएको लत्ताकपडा, गहना र खाद्यान्न जलेर खरानी भयो ।’ शरीरमा लगाएको कमिज र हाफप्यान्ट बाहेक बाँकी नरहेको उनले बताए । ‘२ वर्ष लगाएर बल्लतल्ल विवाहको दिन तय भएको थियो,’ उनले भने, ‘अब पछि सार्न मानेनन् भने रद्दै हुन्छ होला ।’ भाइको विवाहका लागि रकम जोहो गर्न सञ्चित ३० क्विन्टल गहुँ पनि डढेको उनले बताए । विनोदको विवाह नजिकैको सोनवर्षामा वैशाख २६ मा तय गरिएको थियो । स्थानीय मुन्नु पासीको पनि छोरी पुनिताको विवाहका लागि ल्याएको सबै समान जलेर नष्ट भएको छ । भारतको माथा बजारमा वैशाख १५ गते तय भएको विवाह नहुने अवस्थामा पुगेको छ । ‘सबै धनसम्पत्ति डढेर खाने बस्ने ठेगान छैन,’ बाबु मुन्नुले भने, ‘अब कसरी छोरीको विवाह गरूँ ? उनले माने पछि गर्छु, नभए धनसम्पत्ति जोरजाम गरेपछि अर्को ठाउँ गर्छु ।’ मन्नान मियाँको घरको घुर्‍यानबाट बुधबार बिहान साढे ११ बजेतिर आगलागी सुरु हुँदा ५९ घर जलेर नष्ट भएको छ । मियाँका परिवारले खाना खाइवरि बसेका बेला उनको घरबाट अचानक आगो लाग्न थालेको हो । गाउँमा रहेको मुख्य बाटोको दक्षिणतिरका सबै फुसका घर जलेर नष्ट भएका थिए ।
Adbox